काठमाडौं,८ फागुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले लेखेको सांगठनिक प्रतिवेदनलाई लिएर देखिएको विवाद अन्तत मिलेको छ । गगनले लेखेको सांगठनिक प्रतिवेदनलाई लिएर संस्थापन पक्षले आपत्ति जनाएको थियो । संस्थापन पक्षको असहमति पछि जारी महासमिति बैठकलाई रोकेर सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा पदाधिकारी बैठक राखिएको थियो । झण्डै ५ घण्टासम्म चलेको पदाधिकारी बैठकले महामन्त्री थापाले लेखेको प्रतिवेदनलाई नै अन्तिम रुप दिनेमा सहमति जुटेको हो ।
महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।
थापाको उक्त प्रस्तावप्रति कडारुपमा संस्थापन पक्षले आपत्ति जनाएको कांग्रेस स्रोतको भनाई छ । महासमिति बैठक छाडेर डाकिएको पदाधिकारी बैठकमा पनि संस्थापन पक्षले आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने गगनको प्रस्ताव सच्याउन तीव्र दवाव परेको थियो । तर, संस्थापन पक्षको दवावले गगन टसमस नभएपछि देउवापक्ष पछि हटेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा आज बिहान बस्ने केन्द्रीय समितिमा थापाको प्रस्तावमा भोटिङ गर्ने विषय पदाधिकारी बैठकमा उठेकोथियोे । आज बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने र त्यसमा भोटिङ गर्न महामन्त्री थापा तयार भएका थिए । त्यसरी तर्साउन खोज्दा महामन्त्री थापा टसमस नभएपछि संस्थापन पक्ष समस्यामा परेको ती नेताको भनाइ छ । ‘त्यसमा साथीहरूले रोक्दै त्यस्तो गर्नुहुन्न भोटिङ गर्ने कुरा कल्पना गर्न सकिन्न भनेपछि संस्थापन हच्कियो’ उनले भने ।
भोटिङ गर्ने विषयमा पनि गगन तयार भएपछि सभापति देउवा हच्किन बाध्य भएको स्रातेको भनाइ छ । सभापति देउवाले ल ठिकै छ भनेपछि गगनको प्रस्ताव सर्वसम्मत हुने भएको थियो । तर, बीचमै उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा प्रकाशशरण महतले गगनको प्रस्ताव मान्न नसकिने बताएपछि पुन विवाद भएको थियो । तर, देउवाले ‘ल छाड यार भयो’ भनेपछि विवाद मिलेको एक नेताले बताए ।
पदाधिकारी बैठकमा यस्तो सहमति भएपछि देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नका लागि बालुवाटार पुगेका थिए । उनले त्यहाँ गठबन्धन नटुट्ने विषयमा विश्वस्त रहन आग्रह गरेका थिए । देउवा प्रकाश ज्वालालाई मन्त्री पदबाट हटाउन नहुने पक्षमा रहेको र त्यसका लागि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लिएर बैठक चल्दाचल्दै बालुवाटार पुगेको ती नेताले बताए ।
भेटवार्तामा कांग्रेसले महासमितिबाट त्यो प्रस्ताव पारित गरे पनि वर्तमान गठबन्धन सरकार कायम रहने कुरामा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई देउवाले आश्वस्त पारेका थिए।
त्यसपछि वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने कुरामा महामन्त्री थापा सहमत भएको ती नेताको दाबी छ। आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने गरी सांगठनिक प्रस्तावमा देउवा सहमत भए पनि उनले तत्काललाई गठबन्धन सरकारलाई निरन्तरता दिएर अघि बढ्ने कुरामा भने महामन्त्री थापालाई राजी गराएका हुन्।