काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जमा गिरीराजमणि पोखरेललाई जिम्मेवारी तोकेपछि खगराज भट्टले असन्तुष्टि जनाएका छन् । भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । माओवादीले भट्टको जिम्मेवारी खोसेर गत भदौमा डीलाराम आचार्यलाई अभियानको क्रममा इन्चार्ज बनाएको थियो । खगराज माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट केही समयअघि मात्रै हटाइएका थिए ।
यसरी, संसदीय दलको नेताबाट र इन्चार्जबाट पनि हटाइएपछि उनले असन्तुष्टि ब्यक्त गरेका छन् । उनले पार्टी स्थायी कमिटीको उक्त निर्णय सुदूरपश्चिम पार्टी, आन्दोन र आफ्नो ३४ वर्षको राजनीतिक जीवनका लागि अभिश्राप बन्नेवाला रहेको बताए । उनले आफू नेताको नजरमा नपरेको कारण जिम्मेवारी नपाएको उनले बताए । नेताहरुलाई चाकडी, चाप्लुसी गर्ने, विचौलिया र दलालहरु दलाल मनपर्ने थालेको उनको टिप्पणी छ । उनले पार्टी नेतृत्वलाई घरपरिवारको मान्छेसमेत बढी मन पर्न थालेको बताए ।
‘मुख्य नेतृत्वले नै नकारात्मक ढंगले हेर्न चाहेपछि कसैको केही लाग्ने रहेनछ । जतिसुकै जनवादी केन्द्रीयता भनेपनि, जतिसुकै कार्य सम्पादन मूल्लाङ्कन भनेपनि, जतिसुकै इमानदारिता र निष्ठाको मूल्याङ्कन भनेपनि आखिरीमा नेताको नजरमा नपरेपछि त्यसको अर्थ हुँदोरहेनछ भन्ने घटनाबाट पुष्टि भएको छ ।’ रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने, ‘सायद नेताहरुलाई हामीभन्दा आफ्नै घरपरिवारको मान्छे बढी मन पर्यो होला । आजभोलि हाम्रा नेतालाई चाकडी र चाप्लुसी गर्ने, परिक्रमा गर्ने र स्तुति गर्ने मान्छे बढी मन परेको होला । विचौलिया र दलालहरुले बढी घेराबन्दी गरेर पनि त्यो भएको हुनसक्छ ।’