Logo

माधव नेपालपछि देउवाको नजर उपेन्द्र यादवतिर, आजै भेटवार्ता गर्ने



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको र राजनीतिक बेईमानी गरेको भन्दै उनले आफूलाई सक्रिय बनाएका छन् । उनले पूर्व गठबन्धनमा रहेका दलका नेताहरुसँग भेटवार्ता बढाएका छन् ।

आज बिहानमात्रै उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उनले माधव नेपालसँगको भेटमा प्रचण्डले धोका दिएको गुनासो पोखेका थिए । उनले प्रचण्डले धोका दिएपनि आफूहरु मिलेर जानुपर्ने प्रस्ताव राखेका थिए । माधव नेपालनिकट स्रोतकाअनुसार उनले अहिले नै नयाँ समिकरणमा जान वा सरकारमा जाने विषयमा हतार नगर्नपनि नेपाललाई सुझाव दिएका छन् ।

देउवाले आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्ने तयारी गरेका छन् । यादव भने नयाँ गठबन्धनमा सामेल भैसकेका छन् । तर, उनले प्रचण्ड नेतृत्वको सरकारमा पहिलो लटमा मन्त्रीहरु भने पठाएका छैनन् । उनी पनि वैकल्पिक गठबन्धन बन्ने निश्चित् भयो र आकर्षक प्रस्ताव आए सोच्न सकिनेगरि तयार छन् ।

माधवकुमार नेपाल एकाएक राजनीतिको केन्द्रविन्दुमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । तत्कालिन नेकपाको विवाददेखि एमाले विभाजनसम्म फरक कित्तामा उभिएका माधव नेपाल र केपी ओली हिजो पहिलो पटक औपचारिक रुपमै भेटवार्तामा सरिक भएका हुन् । ओली नै माधव नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको गबठन्धन तोडेर एमाले, रास्वपा र जसपाको साथ लिएर नयाँ गठबन्धन बनाएका छन् ।

तर, कांग्रेसको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाउँदा आफूलाई सुईंको पनि नदिएको भनेर माधव नेपाल प्रचण्डसँग बिच्किएका छन् । उनी नयाँ सत्ता समिकरणमा समावेश हुन पछि हटेपछि प्रधानमन्त्री दाहाल र ओलीको दौडधुप कोटेश्वरतर्फ बढेको छ । रोचक त के छ भने प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्रीको कुर्सीबाट पर्छानको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले रणनीतिक कदम चालेका छन् ।

देउवाले त्यसको लागि माधव नेपाललाई नै दुई वर्ष प्रधानमन्त्री हुनेगरि आकर्षक प्रस्ताव राखेका छन् । देउवाको रणनीतिक चाल माधव नेपाललाई पत्नी आरजु रणासहित भेटेपछि सुरु भैसकेको बुझ्न सकिन्छ । यसअघि हिजै साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि माधव नेपाललाई भेटेका हुन् ।

उता, आकर्षक प्रस्ताव राख्दा जसपापनि एमाले–माओवादी गठबन्धनमा नजान सक्ने देउवाको बुझाई छ । रवि लामिछाने नेतृत्वको रास्वपाका नेताहरुसँग पनि देउवाको निरन्तर सम्पर्क रहेको बुझिएको छ । तर, प्रधानमन्त्रीको अफर नै आएका माधव नेपाल भने पार्टीभित्र एक्लो बनेका छन् । उनीसहित पार्टीका १० सांसदहरुमध्ये आधा दर्जन सांसद एमाले अध्यक्ष ओलीको सम्पर्कमा छन् । दुई जना सांसद प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा छन् ।

माधव नेपालले कुनैपनि बेला धोका दिनसक्ने बुझेर नै ओलीले उनका सांसदहरुलाई आफ्नो विश्वासमा राखेका छन् । माधव नेपालको दल राष्ट्रिय दल नभएकोले संसद्मा ह्वीप नलाग्ने भनिएको छ । यसबारे कानूनी प्रश्न भने कायमै छ । माधव नेपाललाई आफ्नै सांसदको साथ नहुँदा देउवाले एमाले–माओवादी गठबन्धन भत्काउन गरेको प्रयत्न नै असफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्