काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जनताको आकांक्षा पूरा गर्न नसकेको दिन आफ्नो पार्टी सरकारबाट बाहिरिने प्रष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा केही गरौं भन्ने हुटहुटी रहेको र आफ्नो पार्टीको पनि एउटै उदेश्य जनतालाई सेवा दिनु भएको हुँदा सरकारमा सहभागी भएको जिकिर गरे ।
उनले भने– ‘म उहाँहरूलाई भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टी हिजो अरू पार्टीले गरेजस्तो गल्ती गर्न आएको छैन, तपाईँहरू ढुक्क हुनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको चौथो ठुलो पार्टी हुँदाखेरी पनि नेतृत्व गर्न सकिन्छ, परिवर्तन गर्न सकिन्छ र तमाम हाम्रा राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छ, जुन दिन त्यो काम गर्न सक्दिन भन्ने लाग्छ, त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताबाट हट्नेछ ।’
उनले आफ्नो दल हिजो प्रश्न गर्ने ठाउँमा रहेको भन्दै आज जवाफ दिने ठाउँमा आएको उल्लेख गर्दै प्रश्नबाट भाग्न नपाइने उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नेहरूले दल सरकारमा जानु हुने थियो कि थिएन भने प्रश्न गरिरहेको अवस्था रहेको बताए ।