काठमाडौं,२५ फागुन । सत्ताका सारथीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रष्ट अल्पमतमा परेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह वैकल्पीक गठबन्धनको प्रयासमा लागेका छन् ।
गत सोमबार एकाएक केन्द्रको राजनीति उलटफेर भएपछि सत्ताका साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका छन् ।
सुदूर सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका मन्त्रीद्धय रमेश धामी र झपट साउँद तथा राज्यमन्त्री गितादेवी माल मंगलबार नै सरकारबाट बाहिरिएका थिए भने बुधबार एकीकृत समाजवादीबाट आर्थिक मामिलामन्त्री बनेका नरेश शाही पनि बर्खास्तीमा परेपछि सरकारबाट बाहिरिसकेका छन् ।
सत्ताका सहयात्री दलले साथ छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले एक सीट रहेको राप्रपाम र एकीकृत समाजवादीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव जितेका डा तारा जोशीलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्ने भागीरथ प्रयास गरिरहेका छन् । एकरएक सांसद रहेका राप्रपा र स्वतन्त्रलाई कांग्रेस सरकारमा सामेल गराउन मुख्यमन्त्रीले मंगलबार देखिनै प्रयास गरिरहेका छन् । सरकार जोगाउन नाउपा सकरात्मक देखिएपछि बिहीबार राति मन्त्रिमण्डल विस्तारको तयारी गरिएको थियो।
त्यसैका लागि वैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहमा सहभागी हुन अछाम जाँदै गरेका प्रदेश प्रमुख देवराज जोशी बिहीबार बेलुकै डडेल्धुराबाट धनगढी फर्किएका थिए।
सुदूरपश्चिममा ५२ जना सांसद छन् । जसमध्ये कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ जना छन् । राप्रपा र स्वतन्त्र १र१ सांसद छन् ।
मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ स्वतन्त्र र राप्रपाका १र१ सांसदलाई लिएर राति नै सरकार विस्तारको तयारी गरेका थिए ।
एकीकृत समाजवादीबाट विद्रोह गरेका जोशीलाई प्रदेशकै शक्तिशाली मानिने आर्थिक मामिला मन्त्री बनाएर सत्ता जोगाउने मुख्यमन्त्री शाहको प्रयासमा राप्रपा सांसद विष्टले साथ नदिँदा अन्यौलता सिर्जना भएको छ । सुदूरमा राप्रपाकी खिमादेवी विष्ट एकल सांसद हुन् । उनलाई मुख्यमनत्री शाहले वन, वातावरण तथा पर्यटनमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
मुख्यमन्त्री शाहबाट मन्त्रीको प्रस्ताव आए पनि राप्रपाले भने अहिले नै तत्काल सरकारमा जानेबारे ग्रिन सिग्नल नदिएको स्रोतको भनाइ छ । राप्रपा स्रोतका अनुसार केन्द्रीय सत्तँ गठबन्धनमा नसमेटिएको राप्रपा नेपाली कांग्रेससँग मिलेर अर्को गठबन्धन बनाउने र आफू निर्णायक रहेको अन्य प्रदेशमा पनि आफ्नो सहभागीताको सुनिश्चिचता गर्न चाहान्छ । सुदूरमा कांग्रेसको सरकार रहेपनि त्यहा नागरिक उन्मुक्ति पार्टी निर्णायक शक्तिको रुपमा रहेको छ । हालसम्म नयाँ सत्ता गठबन्धनमा नगएको नाउपालाई प्रधानमन्त्री प्रचण्ड र एमोल अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।
नाउपा सोमबार बनेको ५ दलीय नवगठबन्धनमा गएमा नयाँ गठबन्धनको सहज बहुमत पुग्नेछ । नाउपाले साथ दिईरहेको अवस्थामा राप्रपा र एक स्वतन्त्र सांसदको साथ पाएमा सुदूर सरकार केही समयका लागि जोगिने देखिन्छ ।