काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्न चाहेको आरोप लगाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिन आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछाने उक्त चाहनाका साथ सरकारमा सहभागी भएको भएपनि आफूहरुले पूरा हुन नदिने बताए ।
‘उहाँको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने ।
नेता चौधरीले वर्तमान सरकारको आयु एक महिना पनि नरहेको दाबी गरे । उनले आफू जसरी भएपनि वर्तमान सरकार ढाल्न लागिपरेको खुलासा गरे । नेता चौधरीले वर्तमान सरकार ढालेर सकभर आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन लविङ गरिरहेको बताए । यदि माधव नेपाल प्रधानमन्त्री बन्ने अहिले परिस्थिति निर्माण नभएको खण्डमा प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री स्वीकार्न तयार रहेको उनले बताए ।