काठमाडौं, २८ फागुन । बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले ‘टुहुरा’ बालकहरू पढाउन आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्ने लक्ष्मी तण्डुकारको निधनपछि उनका २ छोरालाई पढ्न र कोठा भाडाका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १(१)बाट निर्वाचित दिपेन्द्रले आर्थिक अवस्था कमजोर भएको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका छन् । उनले आफैंबाट आर्थिक सहयोगको घोषणा गर्दै अरुलाई पनि सहयोगका लागि आह्वान गरेका हुन् ।
‘स्वर्गीय मित्र राजकुमार तण्डुकार एवं स्वर्गीय भाउजू लक्ष्मी पौडेल तण्डुकार भाउजूको मिनभवन अवस्थित क्रियापुत्री भवनमा क्रियामा बसिरहेको छोराहरूको १३ दिनको लागि आवश्यक पर्ने सहयोग रकम, पढनको लागि आवश्यक पर्ने रकम र १३ दिनको काम सकिएपछि कोठा भाडा लिएर खानपिन गर्नका लागि समेत समस्या भएकोले सहयोग गरि दिन हुन आग्रह गर्दछु । म दिपेन्द्र श्रेष्ठ बाट – ५०,००० ( पचास हजार रूपैया ) ।’-उनले फेसबुकमा लेखेका छन् ।
हरेक जनताको सुख–दुःखमा साथ दिँदै आएका दिपेन्द्रले टुहुरा बालकहरुको भविष्य र लालनपानका लागि सहयोग आह्वान गरेका हुन् । उनको अभियानलाई साथ दिन विभिन्न व्यक्ति र संघ/संस्थाहरु इच्छुक देखिन्छन् ।