Logo

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदै, दाहाल र शर्माबीच प्रतिस्पर्धा



काठमाडौं, फागुन २९ । राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । संसद् सचिवालयको कार्यतालिका अनुसार अहिले बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढ्नेछ ।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने र उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ। माओवादीका तर्फबाट उम्मेदवार बनेका ६८ वर्षीय दाहाल २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। भरतपुर महानगरपालिका–१४ का दाहाललाई सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्। उनको पदावधि चार वर्ष बाँकी छ ।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। नेपालगन्ज उपमहानगरपालिका–२ का ७३ वर्षीय युवराज शर्मा २०४५ देखि २०४९ सालसम्म नेपाली कांग्रेस, बाँकेको सभापति रहेका थिए। २०७८ पुसमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका शर्माको पदावधि चार वर्ष बाँकी छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका ६८ वर्षीय दाहाल राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। २०७८ चैतमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत दाहालको समेत चार वर्ष पदावधि बाँकी छ ।

५८ जना सदस्य रहेको राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६ र जनता समाजवादी पार्टी नेपालका एक सदस्य छन् । अध्यक्षमा निर्वाचित हुन ३० जना सदस्यको दस्तखतसहितको मत विभाजन आवश्यक पर्ने छ ।

माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल हो । सो पार्टीका १७ जना सदस्य छन् । सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई समर्थन गर्ने माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य छन् । यसरी दलले गरेको समर्थनका आधारमा दाहालको पक्षमा ३८ सदस्य छन् । राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रिय जनमोर्चाको समर्थन खुलेको छैन । मनोनीत दुई जना छन् ।



प्रतिक्रिया दिनुहोस्