काठमाडौं,१ चैत । सत्ता समीकरण फेरिएपछि न्युनतम साझा कार्यक्रम बनाउन गठित समितिको बैठक आज बस्दैछ ।
दिउँसो ४ बजेपछ सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेर नयाँ मन्त्रिमण्डल गठन गरेका थिए । पुनर्गठित मन्त्रिमण्डलमा सहभागी भएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, रास्वपा र जसपा सहभागी छन् ।
सरकारमा सहभागी ५ दलबाट समान २-२ जना सहभागी उक्त कार्यदलले कार्यदलका सदस्य तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई आ आफ्नो सुझव दिनेछन् । सबै सुझाव समेटेर रिमालले न्युनतम साझा कार्यक्रमको मस्यौदा लेख्नेछन् ।
नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।