Logo

सत्ता समीकरण बदलिएसँगै जम्दै ओली–नेपालको दोस्ती



काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफू र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ५०औं वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन् ।

आज (शनिबार) काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब एमाले अध्यक्ष ओलीसँगको पुराना कुरा बिर्सिएर देश बनाउनका लागि एकजुट भएको बताए ।

देशमा प्रतिगामी शक्तिहरुले राजतन्त्र फर्काउन प्रयन्त गरिरहेको बेला त्यसका विरुद्धमा कम्युनिष्ट विचारधारा बोकेका शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘केपी ओलीसँगको सम्बन्ध हिजो आजको होइन। ५० वर्षको सम्बन्ध हुँदै आएको, सबै हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जान दिऔं,’– उनले भने ।

पार्टी विभाजनपछि एकअर्काको नाम सुन्दा पनि घृणाको दृष्टि राख्ने ओली–नेपाल सत्ता समीकरणमा आएको फेरबदलसँगै पुनः नजिकिएका छन् । ओली निकै लामो समयपछि अध्यक्ष नेपालको घरमै पुगेका थिए । साथै, अघिल्ला संसद् बैठकमा ओली–नेपालबीच भएको संवादको पनि निकै चासोका साथ हेरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्