काठमाडौं,४ चैत । राप्रपाका कार्यसम्पाद समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको आरोपमा राप्रपाले तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ ।
राप्रपाको गत साता काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनापछि राप्रपो छानबिन समित गठन गरेको थियो । सो छानबिन समितिले दिएको सुझावका आधारमा पार्टीका सहमहामन्त्री प्रेम बलायरसहित तीन जना निलम्बित भएका हुन् ।
निलम्बित हुनेमा बलायरसहित काठमाडौं ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । बलायर राप्रपाका उपाध्यक्ष तथा पूर्व मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव हुन् ।
गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।
पार्टीको बैठकमा श्रेष्ठले नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनको समूहले हातपात गरेको श्रेष्ठ पक्षको दाबी छ ।
‘उपर्युक्त विषयमा मिति २०८०/११/२७ गते कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा तपाईंको संलग्नता देखिएको र उक्त कार्य र व्यवहार पार्टीको हित र स्वार्थ विपरीत, गैरजिम्मेवारपूर्ण एवं अनुशासनहीन देखिएकोले राप्रपाको विधान (संशोधन सहित) २०४८ को दफा ३० (ड) बमोजिम ४ (चार) वर्षका लागि निलम्बन गर्न केन्द्रीय अनुशासन समितिले २०८०।११।३० मा सिफारिस गरेको छ,’ अध्यक्ष लिङ्देनले निलम्बन गरेको पत्रमा उल्लेख छ, ‘उक्त सिफारिसलाई केन्द्रीय कार्यसम्पादन समितिको २०८०।११।२६, २७ र २८ गतेको बैठकको निर्णय नम्बर १४ बाट अध्यक्षलाई अधिकार प्रत्यायोजन भएअनुसार चार वर्षको लागि दफा ३० (ड) बमोजिम निलम्बन गरेको व्यहोरा जानकारी गराउँछु।’