काठमाडौं,४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले फेरिएको परिस्थितिलाई ध्यानमा राख्दै अन्तर पार्टी निर्देशिका (अपानी) १३ जारी गरेको छ ।
आइतबार अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन १३ जारी गर्दै अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले पार्टीको अभियान र महाधिवेशन प्रभावित नहुने स्पष्ट पारेका छन् ।
फागुन २१ गते बदलिएको सत्ता समीकरणमा सहभागी भएकोबारे नेपालले आफ्नो दलको अस्तित्वसमेत नस्वीकारेको नेकपा एमालेलेसमेत आग्रह गरेपछि नयाँ गठबन्धनमा सहभागी भएको उल्लेख गरेका छन् ।
अन्तर पार्टी निर्देशिका (अपानी) मा भनिएको छ ‘गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलगायतका दलहरुसँग नयाँ सत्ता समीकरण बनाएपछि मुलुकको तात्कालिक राजनीतिक परिस्थिति अचानक बदलिएको छ । नेपाली काङ्ग्रेस सम्बद्ध अर्थमन्त्रीबाट असहयोग भएको, राष्ट्रियसभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अन्तरघात भएको, नेपाली काङ्ग्रेसको महासमिति बैठकमा संविधानविरुद्ध हस्ताक्षर भएकोलगायत कारण देखाउँदै प्रधानमन्त्रीले समिकरण परिवर्तन गरेर चार दलका बिचमा समझदारी गरेपछि मात्रै हाम्रो पार्टीसँग सम्वाद भएको थियो । एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समिकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरुमा हाम्रो पार्टीलाई समानरुपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय ग¥यो । वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको छ । साथै, यस नयाँ समिकरणको सरकारका ‘नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रम’ तयार गर्ने कार्यदलमा पार्टीका तर्फबाट उपाध्यक्ष कमरेड प्रमेश हमाल र महासचिव कमरेड घनश्याम भूसाललाई पठाएको छ’ ।
अपानिमा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनका लागि विभिन्न १३ वटा कमिटी गठन गरेको उल्लेख छ । जसमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १० औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी, झलनाथ खनालको संयोजकत्वमा अतिथि सत्कार कमिटी, उपाध्यक्ष डा बेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, अर्का उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी गठन गरेको छ ।