काठमाडौं, ५ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्रसर व्यवसायीबाट मारिएका धनुषा मिथिला नगरपालिकाका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् ।
उनले भने,‘अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्धारा निर्ममतापूर्वक हत्या गरिएका धनुषा जिल्लाको मिथिला नगरपालिकावासी दिलिप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दछु । र, पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसमक्ष माग गर्दछु ।’ दिलिपको परिवारले पटक पटक न्यायको लागि याचना गर्दा राज्यले नसुनेको र उधारो प्रतिबद्धता पटक पटक गरेको साहले स्मरण गराए । उनले भने,‘पीडित परिवारसँग प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्रीले लिखित सहमति गरेको पनि देखियो । तर अहिलेसम्म पनि शहीद घोषणा गरिएको छैन् । ती पीडित परिवार अहिलेपनि न्यायको खोजी गर्दै काठमाडौंमा छन् । यस विषयमा सरकारको जवाफ चाहन्छौं । पीडित परिवारको मागप्रति सरकारले के के गरेको छ, प्रगति कहाँ पुगेको छ भनेर म सोध्न चाहन्छु ।’
यस्तै, उनले रौतहटको भकुवा खोलाको पुल १५ वर्षअघि ठेक्का भई हालसम्म निर्माण कार्य अवरुद्ध अवस्थामा रहेको उल्लेख गर्दै अहिले जनतामा आवातजावतमा समस्या देखिएको बताए । पुल निर्माण गर्ने ठेकेदार भागेको पनि उनको भनाई छ । उनले सो पुलको अवस्था बुझ्न जाँदा त्यो परियोजनाको फाईल नै नभेटिएको उपभोक्ताले गुनासो गरेकोले हाल त्यसको अवस्था के हो ? भनेर संघीय सरकारसँग जवाफ पनि माग गरे ।