काठमाडौं,५ चैत । नेकपा एकीकतृ समाजवादी छाडेर आइतबारमात्रै स्वतन्त्र सांसद् बनेका राजिव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन् ।
उनलाई सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशकै शक्तशाली मानिने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए ।
मन्त्री नियुक्त भएका उनले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । यसअघि सत्तामा रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा मनाङेलाई ल्याएका हुन् । मनाङे मन्त्रीको कुर्सीमा पुगेको यो पहिलो पटक भने होईन् । सोमबारसमेत गणना गर्दा मन्त्रीको कुर्सीमा मनाङे चौथो पटक पुगेका हुन् ।
०७४ सालको प्रदेश सभा निर्वाचनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी प्रदेश सभाको अस्थिर अंकगणितमा खेलेर चौथो पटकसम्म मन्त्री बनेका छन् ।
मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेकोबेला उनले आइतबार मात्रै प्रदेश सभामा दल त्याग गर्दै स्वतन्त्र सांसद्को हैसियत माग गरेर पत्र लेखेका थिए ।
प्रदेशसभा सचिव हरिराज पोखरेललाई आइतबार उनले स्वतन्त्र सांसद भनेर अभिलेख कायम गरिदिन माग गर्दै निवेदन बुझाएका थिए । ‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन निवेदन पेस गर्दछु,’ उनले निवेदनमा लेखेका थिए ।
मनाङे पहिलो पटक ०७४ सालको प्रदेश सभा निर्वाचनमा मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई त्यतिबेला नेकपा एमालेले समर्थन गरेको थियो । एमालेको समर्थनमा सजिलै चुनाव जितेका उनी एमाले र माओवादी मिलेर नेकपा बनेपछि आफूपनि नेकपामै रहेको बताउँदै नेकपाको आसनमा प्रदेश सभामा उपस्थित भए । प्रदेश सभा निर्वाचन भएको झण्डै ४ वर्ष खासै चर्चामा नआएका उनी पहिलो प्रदेश सभाको अन्तिम एक वर्षमा भने तीन पटक मन्त्री बनेर चर्चामा आए ।
तत्कालीन नेकपाको विभाजन नहुँदासम्म मन्त्रीको लागि कुनैपनि चर्चा नभएका मनाङेले नेकपा विभाजनपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा ०७८ वैशाख १६ गते खेलकुद मन्त्री बन्ने सौभाग्य पाए । परिस्थिति बदलिएको हुन्थेन भने तत्कालीन मुख्यमन्त्री गुरुङले उनलाई कुनैपनि हालतमा मन्त्री बनाउने थिएनन् ।तर, नेकपा विभाजन भएर तत्कालीन माओवादीसहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेपछि गुरुङले रातारात मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।
मन्त्री नियुक्त भएको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि स्वत पदमुक्त भएका उनी पुनः वैशाख २९ गते सबैभन्दा ठूलो दलको रुपमा पीएस मुख्यमन्त्री बनेपछि फेरि पुरानै मन्त्रालयमा फर्किएका थिए । तर, जेठ २६ गते मुख्यमन्त्रीले विश्वासको मत लिनेबेला मत नदिएर उनले नै प्रदेश सरकार ढाल्न भूमिका खेले । मनाङे सदनमा नआएपछि पीएस नेतृत्वको तत्कालीन सरकार ढलेको थियो ।
२९ जेठ २०७८ मा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भए । उनी संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
यतिबेला ३१ जना सांसद तत्कालीन प्रदेश प्रमुखको निवासमा पुगेका थिए र हस्ताक्षर सनाखत गरेर पोखरेललाई मुख्यमन्त्री बनाइएको थियो । पोखरेलले ४ असारमा विश्वासको मत लिएका थिए । निर्णायक मत दिएर कृष्णचन्द्रलाई मुख्यमन्त्री बनाउन भूमिका खेलेका मनाङे उनको सरकारमा पनि युवा तथा खेलकुदमन्त्री बनेका थिए । पृथ्वीसुब्बाको सरकारमा दुई र कृष्णचन्द्रको पालोमा एकपटक गरेर उनी संसदको एउटै कार्यकालमा तीनपटक मन्त्री बनेका थिए ।
गत वर्षको प्रदेश सभा निर्वाचनमा पनि उनले स्वतन्त्र रुपमा मनाङ (ख) बाट उम्मेदवारी दिएका थिए । तीन पटक मन्त्री भएको र राजनीतिक रुपमा शक्ति सञ्चय गरेर शक्तिशाली बनेका मनाङेविरुद्ध उम्मेदवारी दिने आँट कुनैपनि मनाङवासीले गरेनन् ।
कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध प्रदेश सभामा चुनिए । सांसद चुनिँदा स्वतन्त्र रहेका उनी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने भेउ पाएपछि भने नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । उनले गण्डकीमा निल बनेको एकीकृत समाजवादीको बिऊ जोगाउन पार्टी प्रवेश गरेको बताउने गरेका थिए । तर, भित्रिरुपमा भने मन्त्री बन्ने सर्तसहित उनी पार्टीमा प्रवेश गरेका थिए ।
मन्त्री बन्ने सर्तमा पार्टी प्रवेश गरेका उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री बनाउन मानेनन् । मुख्यमन्त्रीले मन्त्री बनाउन नमानेपछि पार्टीमा चर्को दवाव दिँदै आएका उनलाई मन्त्री नियुक्त गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत मुख्यमन्त्रीलाई दवाव दिएका थिए ।
सत्ता गठबन्धनको सबैजसो बैठकमा मनाङेलाई मन्त्री बनाउन दवाव दिएपनि माधवको केही लागेन । कुनैपनि हालतमा मनाङेलाई मन्त्री नबनाउने मुख्यमन्त्री पाण्डेको अडान माओवादी र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि भने तोडियो र मनाङे चोथौ पटक मन्त्री बने ।
गण्डकीमा हाल कांग्रेसको मात्र एकल अल्पमतको सरकार छ । मुख्यमन्त्री पाण्डेले बहुमत पुर्याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजिरहेका थिए ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पुर्याउन सक्छन्।
गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकिकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्। गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ।
प्रदेश सभा मध्यावधिमा नजाओस् भनेर सचेत रहेको बताउँदै आएको राप्रपाले पनि आफूलाई साथ दिने विश्वास पाण्डेको रहेको छ । file photo