काठमाडौं । सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीबाट भएको अत्याधिक बल प्रयोगबाट प्रदर्शनकारीहरु घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले सहकारी पीडित बचतकर्ताहरुले काठमाडौँमा चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन, सुनधारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको जनाएको छ ।
सोही दिन साँझ करिब ७ बजेपश्चात सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव के।सी। लगायतका अन्य केही व्यक्तिहरुलाई प्रहरीले कुटपीट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएको आयोगले जनाएको छ । ‘यस सम्बन्धमा आयोगमा उजूरी समेत दर्ता भएको छ । साथै, प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष के।सी। चैत १ गतेदेखि अनसनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ । पीडित बचतकर्ताहरुले हालसम्म ३०२ जना सहकारीका पीडितहरु अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन्’ विज्ञप्तिमा भनिएको छ ।
‘अत शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेश गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, अनसनरत के।सी।को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’ आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।