Logo

रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह



मनहरी (मकवानपुर), ७ चैत । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेका छन् ।

रैथाने बाली बिक्री गर्दा पालिकाले थप रकमसमेत दिने गरेको मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । किसानलाई नयाँ प्रविधिसँग जोड्न र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण तथा बजारीकरणका लागि बजेट विनयोजन गरेर किसानलाई प्रोत्साहित गर्दै आएको भिमफेदीका अध्यक्ष हिदम लामाले बताए । पालिकाले यस्तो अभियान सुरु गरेपछि रैथाने बाली तर्फ उनीहरु आर्कर्षित भएको उनको भनाइ छ ।

मकवानपुरका ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको जनाउँदै उनले यसको संरक्षणका लागि प्रोत्साहन रकम गाउँपालिकाले सहयोग गर्दै आएपछि उनीहरु यो बालीतर्फ आर्कषित भएका बताए । रैथाने बाली जोगाउनका लागि आफुहरुले बजेट विनियोजन गरेर लागिपरेको उनको भनाइ छ ।

रैथाने बाली जोगाउनका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिका मात्र होइन मकवानपुरका अन्य गाँउपालिका पनि लागिपरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले पनि रैथाने बालीमा जोड दिन थालेका छन् ।

आधुनिक प्रविधिको विकास र बसाइँसराइका कारण मकवानपुरमा रैथाने बाली संरक्षणमा चुनौती बढेकाले पनि स्थानीय सरकारको पहलमा रैथाने बाली जोगाउन स्थानीय सरकार लागिपरेको बकैयाँका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

एक दशक अगाडिसम्म मकवानपुरका ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ लगायतका खाद्य बालीको खेती पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । यसैले गर्दा पालिका स्तरबाट आफुहरुले यसलाई जोगाउन बजेट विनियोजन गरेको उनले बताए ।

रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बालीको खेती गर्न छाड्दै गएका हुन् । परम्परागत बाली गाउँका पाखो बारीमा उत्पादन हुने गर्थे । पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्