काठमाडौं, ८ चैत । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका छन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा आज बिहानै बयान दिन सरकारी वकिल कार्यालयमा उपस्थित भएका चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको दाबी गर्दै आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए।
उनले भने, ‘सांसदको रूपमा उद्यमीको रूपमा मैले सिआइबीलाई बयान दिएको छु। सिआइबीले मलाइई मौखिक रूपमा बयान लिने जानकारी गराएको थियो मैले आफ्नो कुरा राखेर आएको छु। यो जटिल परिस्थितिमा मजत्तिको मान्छेले यहाँ उभिएर यो भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दो हो? मेरो ४५ वर्षे यात्राको चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। खासगरी स्टन्टबाजी गर्नेहरूलाई। व्यवसायीलाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्छ।’
बयान दिन चौधरी आफैं सरकारी वकिलको कार्यालय पुगेका थिए। सिआइवीले कांग्रेस सांसद चौधरीमाथि सरकारी जग्गा हिनामिना प्रकरणमा छानबिन भइरहेको जानकारी बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई गराएको थियो। उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो।
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सिआइबीले उनलाई बोलाएर सरकारी वकिलको रोहबरमा बयान लिन थालेको हो।
फोटोःमुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल