काठमाडौं,८ चैत । एकाएक फेरिएको सत्ता समीकरणले प्रमुख सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा धकेलिएको नेपाली कांग्रेसले आफ्नै दलको नेतृत्वमा रहेको कोशी सरकार ढाल्ने खेल सुरु गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विस्थापीत गरेर नयाँ सरकार बनाउन कांग्रेसको एउटा समूह खुलेरै लागेको छ । जसको नेतृत्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालले गरिरहेका छन् ।
गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार पार्टीमा विद्रोह गरेर ८ सांसद जुटाउँदै नेकपा एमालेको समर्थनमा कार्की कोशीको मुख्यमन्त्री बनेका थिए । संविधानले दिएको अन्तिम विकल्पअनुसार मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता समीकरण फेरिएपछि सत्ता जोगाउन मुस्किल परिरहेको छ ।
प्रदेश सरकार संकटमा परिरहेकै बेला मोरङ ५ को १ बाट प्रदेश सभामा निर्वाचन अर्यालले उनलाई विस्थापित गराउन लागिपरेका हुन् । प्रदेश सभामा निर्वाचित भएर कोशीको मुख्यमन्त्री बन्ने योजनामा रहेका अर्याल प्रदेश संसदीय दलको नेतामा नराम्ररी पराजित भएका थिए । अर्याल तीनै नेता हुन् । जसलाई संसदीय दलको निर्वाचनमा उनकै प्रस्तावक रहेका सांसदले नै मत दिएका थिएनन् ।
संसदीय दलको निर्वाचनमा २ मत पाएका अर्याल सत्ता समीकरण फेरिएपनि कार्कीलाई पदच्युत गराउन कम्मर कसेर लागेका छन् । उनले बुधबारमात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । अोलीसँग बालकोटमा भएको भेटमा अर्यालले कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन सहयोग मागेको बालकोट स्रोतको दाबी छ ।
बालकोट स्रोतका अनुसार ओलीले मुख्यमन्त्री बन्न आवश्यक संख्या जुटाएर आउनु अनी सोचौला भनेका थिए । अर्यालले कांग्रेस एक्लैले सरकारमा बहुमत जुटाउन नसक्ने भन्दै एमाले र कांग्रेसबीच सहकार्य हुनुपर्ने बताएका थिए ।
कोशीमा सत्ता समीकरण फेरिएपछि नयाँ मुख्यमन्त्रीमा एमाले माओवादी दुवैको दाबी रहेको छ । एमालेबाट संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगै पूर्वमन्त्री तिलकुमार मेन्याङवोले दाबी गरिरहेका छन् । भने माओवादीबाट संसदीय दलका नेता इन्द्र आङ्बो मुख्य दाबेदार हुन् । त्यसोत सत्ता साझेदार अर्को दल नेकपा एकीकतृ समाजवादीले पनि दाबी गरेको छ ।
९३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ५, राप्रपाका ६ र जसपाका १ जना सांसद छन् । सरकार बनाउन ४७ सांसदको आवश्यक्ता पर्छ । जुन सत्ता गठबन्धनसाग रहेको छ ।
सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत भएपनि मुख्यमन्त्री कार्की सहजै पद त्याग गर्ने मनस्थितिमा छैनन् । उनी प्रदेश सभाबाट विश्वासको मत पनि नलिने र सरकार पनि नछोड्ने अड्डीमा छन् । उनले सत्ता गठबन्धनले पेल्न खोजे प्रदेश सभा विघटन गरिदिने चेतावनी दिँदै आएका छन् ।