काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण र जनसरोकारका विषयमा रिपोर्टर्स क्लब नेपालले सशक्त ढंगले आवाज उठाउँदै आएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रिपोर्टर्स क्लबले नेपालको सञ्चार जगतमा विशिष्ट पहिचान बनाएको बताएका हुन् ।
‘रिपोर्टर्स क्लबको स्थापना कालदेखि म पनि कुनै न कुनै रुपमा संलग्न हुँदै आएको छु । रिपोर्टर्स क्लबले प्रजातन्त्रको सुदृढीकरण, राष्ट्रियताको संरक्षण र जनसरोकारको विषयमा सशक्त ढंगबाट आवाज उठाउँदै आएको छ । रिपोर्टर्स क्लब नेपालको सञ्चार जगतमा विशिष्ट पहिचान बोकेको संस्था हो,’– उनले भने ।
आज रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव हो । २६औं वार्षिकोत्सवका अवसरमा उनले देश र जनताको पक्षमा उठाएको आवाज सदैव अविस्मरणीय रहने बताए । जनताको जनजीविकाका सवालमा अझ सशक्त ढंगले आवाज उठाउनसमेत उनले आग्रह गरे । रिपोर्टर्स क्लब नेपाल कतिपनि विचलित नभइ निरन्तर जनताको माझमा पुग्ने प्रयास गरेको भन्दै प्रसंशा गरे ।