काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) का नेता मनिष सुमनले रिपोर्टर्स क्लबले हजारौंका संख्यामा निडर पत्रकारहरु उत्पादन गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सुमनले क्लबले हजारौंको संख्यामा पत्रकार उत्पादन र राजनीतिक कार्यकताको विचार र एजेण्डलाई जनतामाझ पुर्याउन उल्लेखनियक भूमिका निर्वाह गरेको बताएका हुन् । साथै, नेपालको राजनीतिक परिवर्तम एउटा राजनीतिक दलको जति भूमिका छ त्यतिनै भूमिका रिपोर्टर्स क्लबको पनि रहेको उनको भनाइ छ । उनले संसद् विघटनको समयमा रिपोर्टर्स क्लबले संसद्को भूमिका निर्वाह गरेको भन्दै प्रसंशासमेत गरे ।
‘सूचनाको पर्यायवाची नाम ऋषि धमला हुनुहुन्छ । रिपोर्टर्स क्लब जसले हजारौंको संख्यामा निडर पत्रकारहरु उत्पादन गर्यो, जसले राजनीतिक कार्यकर्तालाई पनि आम जनताको माझ पहिचान गरायो । रिपोर्टर्स क्लब नभएको भए आम जनताले मनिष सुमन को हो ? भनेर चिन्न गाह्रै हुन्थ्यो । तर, रिपोर्टर्स क्लबले पटक–पटक अवसर दियो ।’ उनले भने, ‘परिवर्तको आन्दोलनमा राजनीतिक दल जसरी सहभागी भएको थियो, रिपोर्टर्स क्लब पनि त्यसरी नै सहभागी भएको थियो । तपाईँलाई पनि उठाएर लगिएको थियो । यो देशमा हठात संसद् विघटन भएको थियो । बोल्ने ठाउँ थिएन । रिपोर्टर्स क्लबले संसद्को भूमिका निर्वाह गरेको थियो ।’
पत्रकार धमला जहिले पनि लोकतन्त्रप्रति लडेको भन्दै उनले इतिहासले जहिले पनि गर्व गर्ने बताए । साथै, रिपोर्टर्स क्लबमाथि भावी सन्ततिहरुले पनि गर्व गर्ने उनको भनाइ छ ।