Logo

शेखर कोइरालाले गरे फेरि प्रचण्डलाई अप्ठ्यारो पार्ने कुरा, टिआरसीबारे के भने ?



काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश यतिवेला अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेको टिप्पणी गरेका छन् । उनले देशको राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक कुनैपनि अवस्था ठीक तवरले नहिँडेको दाबी गरेका छन् । उनले ०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेपनि अब भने एक्लै चुनाव लड्ने प्रण गर्नुपर्ने बताए ।

वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता कोइरालाले अब कांग्रेसले एक्लै चुनाव लड्ने भन्दै कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गरे । गठबन्धनमा भएपनि कोशी प्रदेशमा मुख्यमन्त्री माओवादीलाई दिन नहुने पक्षमा आफू उभिएको र आफ्नै कारणले कोशीमा विद्रोह भएकोमा कोइरालाले गर्व महशुस गरे । आफ्नो फाईदाको लागि भन्दापनि पार्टी बचाउनको लागि आफूले कोशीमा विद्रोह गरेको उनको स्पष्टोक्ति थियो ।

कांग्रेस–माओवादी गठबन्धन टुटाउनुमा कांग्रेसको महासमिति बैठकमा पेश भएको प्रतिवेदनलाई प्रधानमन्त्री प्रचण्डले दोष देखाएको स्मरण गराउँदै कोइरालाले भने–‘उहाँले हाम्रो महासमिति बैठकमा हाम्रो प्रतिवेदन हो, नेपाली कांग्रेसको प्रतिवेदन हो, लाग्छ त्यो माओवादीले लेखिदेओस भन्ठान्नुहोला उहाँले । माओवादी सशस्त्र द्धन्द्धको बारेमा उपसभापतिजीले असामयिक भनेर प्रतिवेदनमा लेख्नुभयो । त्यसको पनि उहाँले विरोध गर्नुभयो । महामन्त्रीको प्रतिवेदनमा ०८४ को निर्वाचन हामी एक्लै लड्छौं भन्ने छ, नेपाली कांग्रेसको प्रतिवेदन प्रचण्डले लेख्ने हो भने हामीले कस्तो नेपाली कांग्रेस बनाउन खोजेको हो ?’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको गठबन्धन तोड्दा देखाएको कारण आफूलाई चित्तबुझ्दो नभएको कोइरालाको भनाई छ । उनले भने,‘उहाँले यी कारणले हामीसँग छोडेर एमालेसँग जानुभएको होला भन्ने मलाई लाग्दैन् । हुनसक्छ, भूराजनीतिक परिस्थितिले गरेको हुनसक्छ । हुनसक्छ–सत्य निरुपण तथा मेलमिलापमा नेपाली कांग्रेस त लचिलो छ, एमाले अप्ठ्यारो भएको छ, त्यो टिआरसी विद्येयक पास भएन भने म त अप्ठ्यारोमा पर्छु भन्ने लागेको हुनसक्छ उहाँलाई । एमालेसँग कुरा त गर्नुभयो । नेपाली कांग््रेसले मानिहाल्छ भन्नठान्नुभयो । तर म आज यही मञ्चबाट भन्न चाहन्छु–नेपाली कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । नेपाली कांग्रेस मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संघ तथा संस्थाहरुको मिनिमम क्राइटएरियालाई लिएरमात्र अघि बढ्छौं । र, तेस्रो भनेको विद्येयक पीडितमैत्री बन्नुपर्छ । यो हाम्रो मान्यता हो । यी कुराहरु भएनन भने जतिसुकै संसद्बाट पारित भएर आएपनि लागु हुन सक्दैन भन्ने कुरा म यहाँ भन्न चाहन्छु ।’

जघन्य अपराध र अपराधलाई एउटै क्याटेगोरीमा राख्न थालियो भने टिआरसी कसरी अघि बढ्छ भन्दै उनले प्रश्न उठाए । उनले भने,‘माओदीले टिआरसीलाई मिलाउन खोजेको जस्तो मलाई चाहीँ लागेको छ । आभाष भैराखेको छ । हामी अहिले विपक्षमा छौं । विपक्षीको भूमिका निर्वाह गर्छौं । सत्तापक्षले राम्रो काम गरे सपोर्ट गर्छौं । होईन, भने विरोध गर्छौं । मेरो मनमा एउटा प्रश्न उब्जिएको छ–६÷६ महिनामा र एक एक वर्षमा गठबन्धन टुट्न थाल्यो र बन्न थाल्यो भने देशको विकास कहिले गर्ने ? अब केन्द्रमा मात्रै नभएर सातै वटा प्रदेशमा हुँदैछ । सबै प्रदेशमा तलमाथि भैरहन्छ । फेरि केही दिन र महिनापछि अर्को गठबन्धन पक्कै बन्छ । हामी अहिले विपक्षमा छौं । हामी त सत्तामा पुग्न कोशिश गरिरहन्छौं । त्यो स्वभाविक हो । यसरी देश अघि बढ्न सक्दैन् । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ–कुनैपनि दलको बहुमत आउँदैन् । गठबन्धनमा त जानैपर्ने हुन्छ । निर्वाचन प्रणालीलाई सुधार गरेर जानुपर्छ । समानुपातिक तथा समावेशी संविधानको मूल सिद्धान्तमा पर्छ, यसलाई कसरी अघि लिएर जाने ? मेरो विचारमा समानुपातिक तथा समावेशी चरित्रलाई स्विकार गरेर अपर हाउसमा लैजानुपर्छ । लोअर हाउसमा प्रत्यक्ष निर्वाचन प्रणाली गर्नुपर्छ । त्यसमा दलित र महिलाहरुको कोटा छुट्याईदिनुपर्छ । त्यसरी जाँदा कुनै न कुनै दलको बहुमत आउँछ । त्यसले सरकार चलाएर अघि जान्छ । त्यसको निम्ति के गर्नुपर्ने हो यो प्रश्न चाहीँ मेरो दिमागमा छ । हामी कसरी जाँदाखेरि देशलाई स्थिरता दिन सकिन्छ ? भनेर त्यतातिर हामीले सोच्नुपर्छ । नेशन फस्र्ट भनेर सोच्नुपर्छ । अहिलेका राजनीतिज्ञहरुले म पहिले भन्छन् । देशलाई हेरेर जानुपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्