Logo

रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले सत्ताबाट बाहिरिँदाको पीडा व्यक्त गर्योः महेश बर्तौला



काठमाडौं, १८ चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले संसद्मा सत्ताबाट बाहिरिँदाको पीडा व्यक्त गरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बारेमा संसद्मा उठाएको प्रश्न सान्दर्भिक नरहेको बताएका हुन् ।

‘संसद्मा प्रतिपक्षले आफ्नो विषय उठाउने कुरा उहाँहरुको निजी मामिला भयो । उहाँहरुले आज जे विषय जसका सन्दर्भमा उठाउँदै हुनुहुन्छ, त्यो कुरा त्यतिधेरै मिलेको छैन, संगतियुक्त छैन भन्ने हाम्रो भनाइ हो र आग्रह हो । उहाँहरुले जे विषय उठाउनु भएको छ, त्यो सरकारबाट हट्दाको पीडाको अभिव्यक्ति हो । त्यो पीडा व्यक्त भएको हो ।’ उनले भने, ‘उहाँहरुले नयाँ सत्ता यात्रा सहयात्राको प्रक्रिया प्रारम्भ हुँदैगर्दा अहिले कायम रहेको समीकरण नबनोस् भन्नका लागि अहिलेका गृहमन्त्रीलाई प्रधानमन्त्रीको समेत प्रस्ताव गर्नुभयो । प्रधानमन्त्री स्वीकार गर्न तयार भएको नेपाली कांग्रेसले जब नयाँ सत्ता समीकरणमा उहाँ (रवि) गृहमन्त्री बन्नुभयो । गृहमन्त्री बन्नेवित्तिकै नेपाली कांग्रेसले दोषी देख्यो ।’

आफूले चाहीँ प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने र अर्को समीकरणमा गृहमन्त्री हुँदा पनि विरोध गर्ने कांग्रेसको कदम राजनीतिक पूर्वाग्रहबाहेक अर्को कुनै कारण नरहेको उनको भनाइ छ । अहिलेको अवस्थामा कांग्रेसले माग गरेझैं संसदीय समिति गठन नहुने उनको भनाइ छ । सरकारलाई काम गर्न नदिने ढंगबाट पूर्वाग्रह राखेर कांग्रेसले किचलो गरेको उनको भनाइ छ । कांग्रेसले संसदीय समितिको माग रिथिङ्क गर्न आवश्यक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्