काठमाडौं,१८ चैत । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले द्धन्द्धरत देश रुस जानलाई नेपाली नागरिकलाई सरकारले श्रम स्वीकृति दिएकोबारे आपत्ति जनाएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले द्धन्द्धमा फसेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुको साटो उल्टै नयाँ श्रम स्वीकृति दिएर गर्न खाजेको के हो भन्दै प्रश्नसमेत गरेकी छन् ।
“युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,” उनले भनिन्, “युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।”
उनले देशभर महिलाको हत्या भइरहेको भन्दै सरकार र गृहमन्त्री के हेरेर बसेको भनी प्रश्न गरिन् । “युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरर बस्नुभएको छ ? एक हप्तामा सात÷आठजना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ?”
रुस युक्रेन युद्धका कारण त्यहाँ रहेका केही नेपालीहरुले ज्यान गुमाएका छन् । महिनौंदेखि सुरु युक्रेन युद्धको चपेटामा परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनुको साटो केही दिनअघिमात्र पूर्व निर्णय भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले श्रम स्वीकृति दिने निर्णय गराएका थिए ।