काठमाडौं,२० चैत । सभामुखको अनुपस्थितिमा उपसभामुखलाई सदन चलाउन नदिएको भन्दै संसद्मा प्रश्न उठेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले उपसभामुख महिला भएकै कारण सदन चलाउन नदिएको भन्दै प्रश्न उठाएकी हुन् । १० दिन सदन बन्द गरेर सभामुख देवराज घिमिरे हालै स्वीजरल्याण्डको भ्रमणमा गएर फर्किएका थिए । उक्त समयमा उपसभामुखलाई सदन चलाउने जिम्मा दिनुपर्ने सांसदको माग थियो । तर, सभामुखले उपसभामुख इन्दिरा रानालाई जिम्मेवारी दिएका थिएनन् ।
सभामुख अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी भएर १६ चैतमा मात्रै स्वदेश फर्किएका थिए । त्यसको दुई दिनपछि प्रतिनिधि सभाको बैठक १८ चैतमा बसेको थियो ।
उनले भनिन्, ‘चैतको पहिलो साता सभामुख विदेश जाने भनेर हतार-हतार विधेयकहरू अगाडि बढाइयो । त्यसपछि लामो समय बैठक स्थगित भयो ।’
सांसद यादवले उपसभामुख महिला भएका कारण यस्तो व्यवहार गरिएको भन्दै सभामुखमाथि प्रश्न गरिन् । ‘कि उपसभामुख महिला भएर हो ? यदि महिला भएर हो भने संविधानमा लेखिएको अधिकारको कुरा कहाँ जान्छ ? महिलाको कार्यक्षमतामा सधैं शंका गर्ने ? संसद्मा समेत कार्यक्षमता देखाउन नपाउने ?’