Logo

रास्वपाको कोर टिम सहकारी ठगीमा, डोर टिम ढाकछोपमा र पुअर टिम फेसबुकमा सक्रिय छः विश्वप्रकाश शर्मा



काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तीनवटा टिम रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको कोर टिम सहकारी ठगीमा संलग्न, डोर टिम ढोकामा बसेर ढाकछोप गर्न र पोर टिम रास्वपा जिन्दावाद भन्दै फेसबुकमा हल्लाखल्ला गर्न संलग्न रहेको टिप्पणी गरेका हुन् ।

‘त्यहाँभित्र एउटा कोर टिम रहेछ । जुन यो गतिविधिमा संलग्न छ । त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोप गर्छ । डोर टिम छ ढोकामा बसेर ढाकछोप गर्छ, कोर टिम छ भित्र गएर काम गर्छ । अनि पुअर टिम जो देशभर रास्वपा जिन्दावाद भनेर भनेर फेसबुकमा लेखिरहन्छ,’– उनले भने ।

साथै, जिबी राईसहितको समूहले देशका पाँच ठूला सहरमा नियोजित रुपमा ‘स’ बाट नाम आउने पाँच वटा सहकारी खडा गरेर ५० हजार भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको उनको दाबी छ । ती पाँच सहकारीबाट गोरखा मिडियामा ८० करोड रुपैयाँ लगानी भएको उनको दाबी छ ।

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरु संसदीय समितिमा खुल्ला बहस गर्न तयार रहेको बताए । केही दिनअघि लामिछानेले कांग्रेससँग बहस गर्न कहाँ आऊँ ? भनि सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए । अन्य ठाउँमा नभएर आफूहरु संसदीय छानविन समितिमा बहस गर्न तयार रहेको महामन्त्री शर्माले जवाफ दिएका छन् ।

महामन्त्री शर्माले जिबी राईको समूहले पूर्व योजना बनाएर पाँच ठूला सहरमा ‘स’ बाट नाम भएका सहकारी दर्ता गरी ठगी गरेको बताए । उनले भने, ‘पाँच वटा सहरको, पाँच वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपैयाँ । ‘स’ बाट उठेका ५ वटा सहकारी, पहिला पूर्वतयारी गरेर सहकारी बनाइराखेर त्यहाँबाट रकम प्रवाह गरिएको छ । काठमाडौंको सुर्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगञ्जको समानता र विरगञ्जको सानो पाइला ।’ Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्