काठमाडौं,२२ चैत । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले राजीनामा दिने वा विश्वासको मत फेस गर्ने भन्नेबारे निर्णय लिने अधिकारी मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको छ ।
आज बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । तर, अहिलेसम्म बहुमतको जुगाड भएको छैन् । सत्ता सहयात्री बनाईएको दल नागरिक उन्मुक्ति पार्टीमा तीव्र विवाद देखिँदा उनले विश्वासको मत पाउने स्थिति छैन् । विश्वासको मत नपाउने भएपछि प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी उनले गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बिहीबार प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन र तटस्थ नबस्न ह्विप नै जारी गरेको छ।
तर, त्यसअघि बुधबार नै अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन्।
कांग्रेस नेतृत्वको सरकार ढाल्ने रणनीतिमा रहेकी रञ्जिताले बुधबार नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई बर्खास्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेकी छन्। उनी रेशम निकटकी सांसख हुन् । उनको स्थानमा तीर्थराज बोहरा सांसद सिफारिस भईसकेका छन् ।
रेशमकै जोडबलमा रञ्जिताको चाहनाविपरीत नाउपाका ७ सांसदमध्ये ५ जना सुदूरपश्चिम प्रदेश सरकारमा सामेल छन्। सरकार बाहिर रहेका सांसदद्वय कैलाश चौधरी र टीका थापा रञ्जितानिकट प्रदेश सांसद हुन् । उनीहरुले कुनैपनि हालतमा विश्वासको मत नदिने बताईसकेका छन् ।
विश्वासको मत लिँदा नाउपाका कुनै सांसद अनुपस्थित भए, विपक्षमा रहे वा तटस्थ बसे भने मुख्यमन्त्री शाहको सरकार स्वत ढल्छ ।
नाउपाका सांसद एकढिक्का भएर विश्वासको मत दिए पनि मुख्यमन्त्री शाहलाई सरकार जोगाउन थप दुई सांसदको आवश्यकता पर्नेछ। ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।
नेपाली कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ सांसद मात्र समर्थनमा रहेको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ। नाउपा एकढिक्का भएर विश्वासको मत दिए सरकार जोगाउन राप्रपा र स्वतन्त्र एकरएक सांसद निर्णायक छन्।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।