काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई दिउँसो १ बजे शपथ गराउनेछन् । शपथसँगै मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । उनले आजै प्रमुख तीन दलको तर्फबाट एक एक जनालाई सरकारमा लाने तयारी गरेका छ्न ।
यसैबीच प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले संसदीइ दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वको मन्त्रीहरु सरकारमा पठाउने भएको छ ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट दोश्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित आचार्य यसअघि पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला मन्त्री र २०७९ सालमा लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकासमन्त्री भएका थिए।
४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सरकारको दाबी पेस गरेका नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरालाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले समर्थन गरेका छन् ।