Logo

केपी ओलीले गरेको संसद विघटन गलत थिएन, चुनावमा नगएर कांग्रेसले गम्भीर गल्ती गर्‍यो: चन्द्र भण्डारी



काठमाडौं,२५ चैत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गलत नभएको जिकिर गरेका छन् ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद विघटनपछि चुनावमा जानु नराम्रो नभएको उल्लेख गर्दै कांग्रेसले चुनावमा भाग लिएको भए संसद्मा एमाले र कांग्रेसको मात्र प्रतिनिधित्व हुने र माओवादी र एकीकृत समाजवादी सधैंका लागि बढारिने दाबी गरे ।

‘चुनावमा जानू भनेको प्रतिगमन होइन, त्यतिबेला चुनावमा गएको भए कांग्रेस र एमालेमात्र हुन्थे प्रचण्ड र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिड्नु गलत थियो,’ उनले भने।

उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन्। भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे।

नेता भण्डारीले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने पनि उद्घोष गरेका छन् ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’उनले भने ।



प्रतिक्रिया दिनुहोस्