काठमाडौं, चैत २५ । चर्चित भारतीय धारावाहिक शृङ्खला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् । शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपिकाले रामायणबाट भगवान् राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् ।
उनले भनिन,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान् रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।
रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान् रामको १४ वर्षे वनवास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन् । धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन् ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल