काठमाडौं, २५ चैत । नेकपा (एमाले) ले कोशी प्रदेशमा हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन गर्न गृहकार्य थालेको छ । त्यसका लागि एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कोशीमा संविधानको धारा १६८ (५) बमोजिमको सरकार छ । संविधानले उक्त धारालाई सरकार गठनको अन्तिम विकल्पको रुपमा लिएको छ । तर, नेकपा (एमाले) अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले स्थापित गरेको नजिरलाई आधार बनाएर एमालेले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी थालेको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे गठबन्धन दलबीच छलफल भइरहेको बताए । उनका अनुसार गठबन्धन दलहरुले छिट्टै नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछन् । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा अबको सरकार गठन हुने प्रमुख सचेतक भण्डारीको दाबी छ ।
‘नयाँ समीकरणका दलहरुबीचमा छलफल चलिरहेको छ । छलफल सकारात्मक छ । नयाँ सरकार गठन र पुरानो विस्थापनका निम्ति आवश्यक प्रक्रिया सुरु गर्नका निम्ति तयारी गर्दैछौं ।’ वरिष्ठ अधिवक्तासमेत रहेका भण्डारीले रिपोर्टर्स नेपालसँग भने, ‘सर्वोच्च अदालतले अर्को सरकार गठन गर्ने बाटो खुल्ला गरिदिएको छ । संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियाको बमोजिमबाहेक विघटन हुँदैन । बैकल्पिक सरकार गठन गर्ने विकल्प रहेसम्म संसद् विघटन हुँदैन । अब नेकपा (एमाले) कै नेतृत्वमा सरकार गठन हुन्छ ।’