Logo

कोशीमा केदार कार्कीलाई हटाउन ४ दलको फाइनल मिटिङ आज, मन्त्री र समर्थन फिर्ता एकैपटक गर्ने तयारी



काठमाडौं,२६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विस्थापन गरेर नयाँ सरकार गठन गर्नेबारे छलफल गर्न चार दलको बैठक आज पनि बस्दैछ ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नेपालसहितको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । यसअघि आइतबार माओवादी केन्द्र र नेकपा एमालेबीच दुई पटक छलफल भएको थियो । आइतबारको छलफलमा नै धेरै कुरा मिलिसकेको र आज थप छलफल गरेर आवश्यक निर्णय लिने एमालेले जनाएको छ ।

आइतबार दुई पार्टीका नेताहरू हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबीच एक्लाएक्लै छलफलपछि अन्य नेताहरूसँग सामूहिक छलफल भएको थियो । छलफलमा एमालेबाट कार्कीसहित उपनेता रामबहादुर राना मगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरू जीवन आचार्य, दुर्गाप्रसाद चापागाईँ र बाबुराम गौतम सहभागी थिए । नेताहरूबीच शुक्रबार पनि छलफल भएको थियो ।

कार्की नेतृत्वको सरकार ढाल्न एकैपटक चार कदम चाल्ने नेताहरूको तयारी छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ मुख्यमन्त्रीसहितको दाबी पेस गर्ने, संसद्को विशेष अधिवेशन बोलाउने र मन्त्रीहरूले राजीनामा दिने काम एकै पटक गर्ने नेताहरूले बताएका छन् ।

कार्की पार्टीबाट विद्रोह गर्दै गत असोज २७ गते नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेसहितका दलहरुले विश्वासको मत दिएका थिए । एमालेले पनि विश्वासको मत दिएपनि सरकारमा भने सामेल भएको छैन् । हाल कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका तीन र एकीकृत समाजवादीका १ गरि ४ जना मन्त्री नियुक्त भएका छन् ।

हाल माओवादीका नारायण बुर्जा मगर, राजेन्द्र कार्की, गणेश आचार्य (शुसील) मन्त्री छन् भने एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री रहेका छन् । ४ दलबीच सहमति जुटेका आजै ४ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता बोलाउने सत्ता गठबन्धनको तयारी रहेको छ । सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार कोशीमा एमालेले सरकारको नेतृत्व लिनेछ ।

एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले यसअघिनै सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना पार्टीका ३९ सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्