काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तीय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेस गर्नेछन् ।
संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधानमाथि सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयकमाथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युतीय ब्यापार विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो । आजको बैठक पनि चल्न नदिने कांग्रेसको अडान कायमै छ ।