काठमाडौं, २७ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आगामी चैत ३० गते शुक्रबारको दिन विश्वासको मत लिने भएका छन् । महराले विश्वासको मत लिने प्रयोजनार्थ लुम्बिनी प्रदेश सभाको बैठक बोलाउने तयारी भएको छ । सो दिन दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिने तयारी रहेको बताइएको छ ।
महरा गत चैत २३ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी उपधारा २ बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले उपधारा ४ को व्यवस्था बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । महराले भने चाँडै नै विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएरमात्रै प्रदेश सरकारलाई पूर्णता दिने महराको तयारी छ ।
महराले विश्वासको मत पाउनका लागि ४४ सांसदको मसर्थन आवश्यक पर्छ । उनी मुख्यमन्त्रीमा नियुक्त हुँदा ४८ सांसद्ले समर्थन गरेका थिए । मुख्यमन्त्री महरालाई अहिले सत्तारुढ दलहरु एमालेसँग २९, माओवादीसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग ४, जसपासँग ३, नेकपा (एकीकृत समाजवादी) सँग १ र अर्का १ स्वतन्त्र सांसदको समर्थन छ ।