Logo

माओवादी नेता शाहीले मागे गृहमन्त्री रवि लामिछानेको राजीनामा (भिडिओसहित)



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र बहादुर शाहीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले भने,‘गृहमन्त्रीको सहकारी ठगी प्रकरणको बारेमा संसद्मा पनि व्यापक रुपमा कुरा उठेको छ । बाहिर पनि हरेक ठाउँमा सबैले बोलेकै छन् । सत्ता पक्षका सांसदले पनि बोलेकै छन् । राजनीतिक गर्ने मान्छेलाई ऐन तथा कानूनभन्दापनि इथिक्स मुख्य कुरा हुन्छ । प्रधानमन्त्रीले गृहमन्त्रीलाई बर्खास्त किन गर्नुभएन भनेर पनि प्रश्न उठेको छ । प्रधानमन्त्रीले त दोषी प्रमाणित भएपछि बर्खास्त गर्नुहुन्छ ।’

उनले गृहमन्त्री लामिछाने अहिले दोषी करार नभएको स्पष्ट पारे । यद्धपी उनले गृहमन्त्रीको सहकारी ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसको लागि गृहमन्त्री लामिछानेले अनुसन्धानको लागि सहज वातावरण बनाउनुपर्ने धारणा राखे । उनले भने,‘अनुसन्धानको लागि सहज वातावरण बनाउने त उहाँको नैकिताको कुरा हो । उहाँले राजीनामा दिएर छानबिनलाई सघाउनुभयो भने त्यो उहाँको ठूलो महानता हुन्छ । उहाँले ल ठिक छ मलाई एक हप्ताभित्र यो प्रकरणमा छानबिन होस, म एक साता बाहिर बस्नु भन्नुभयो भने यो उहाँको महानता हो ।’

शाहीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई वैचारिक र राजनीतिक रुपमा मात्रै नभएर भौतिक रुपमा नै सिध्याउनको लागि आफूहरुविरोधी शक्ति सक्रिय भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्ड नेतृत्वको सरकारमाथि चौतर्फी आक्रमण भएको छ । यसको राम्रोसँग समिक्षा भएको छ । यसको पछाडिको कारण भनेकै माओवादीबाट खतरा महसुस गर्ने र प्रचण्डबाट खतरा महसुस गर्नेहरु, जो नेपालमा अस्थिरता र प्रतिगमन चाहन्छन् ती शक्तिहरुको तारो भनेको नै प्रचण्ड हो । प्रचण्डलाई असफल पार्नको लागि र वैचारिक, राजनीतिक र भौतिक हिसाबले नै सिध्याउनको लागि हामीविरोधी शक्तिहरु अहिले सक्रिय छन् ।’ नेता शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले कहिल्यैपनि आफूलाई सत्ताको लागि केन्द्रित नगरेको जिकिर गरे । सुशासनको पक्षमा प्रधानमन्त्री दाहालले दृढताका साथ कदम चालेको भन्दै अरु दलले पनि साथ दिनुपर्ने उनको सुझाव छ ।

शाहीले आजको दिनमा कांग्रेस र एमालेभित्र पनि समस्या र अन्तरविरोध कायम रहेको भन्दै ती पार्टी फुट्ने दाबी गरे । उनले आफू संलग्न रहेको माअ‍ोवादी पार्टी पनि फुट्ने टिप्पणी गरे । शाहीले रवि लामिछाने नेतृत्वको रास्वपापनि आज न भोलि फुटेरै छाड्ने दाबी गरे । नेपालका राजनीतिक दलहरु जोगाउनको लागि नै हम्मेहम्मे रहेको उनको जिकिर छ । पार्टी नै जोगाउन कठिन रहेको समयमा गठबन्धन जोगाउनु त फलामको चिउरा चपाएसरह भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्