काठमाडौँ, १९ वैशाख । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन् ।
चीनको दश दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले आज संवाद डबलीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि सधैँ तत्पर रहेको उल्लेख गरे ।
“चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ”, उनले भने, “चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ ।”
महासचिव गुरुङ नेतृत्वको ३० सदस्यीय टोलीले चीनमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन सहयोग पुग्ने महासचिव गुरुङको विश्वास छ ।
फरक प्रसङ्गमा महासचिव गुरुङले वर्तमान सरकार संसद्को पुरै कार्यकालसम्म टिक्ने बताए । “संसद्को बाँकी समयसम्म यही समिकरण जान्छ”, उनले भने । नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाले सत्ता समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
महासचिव गुरुङले भर्खरै भएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । देश विकासका लागि मुख्य कुरा आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।
“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो । तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, महासचिव गुरुङले भने ।
कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं माओवादी केन्द्रका नेता डा दीपेन्द्र रोकायाले नेपालको विकासका लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै उनले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडि बढाउन नसक्दासम्म देश अगाडि नबढ्ने उनले बताए । रासस/file photo