काठमाडौं । गत वैशाख १५ गते भएको इलाम-२ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले भोलि पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सभामुखको सचिवालयका अनुसार, बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा नेम्बाङको शपथ कार्यक्रम राखिएको छ।
इलाम २ को उपनिर्वाचनमा सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भारी मतान्तरले हराउँदै संसद्को ढोका खोलेका थिए ।
निर्वाचन आयोगका अनुसार सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का २१ हजार ९ सय ४२ मतसहित दोस्रो भएका थिए।
०७९ मंसिरको आम निर्वाचनमा एमालेबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गत वर्ष भदौमा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवासका कान्छा छोरा हुन् ।