धरान (सुनसरी), ३० वैशाख । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।
सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उनी आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उनको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।
पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उनी जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।
कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गरेका थिए । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाए ।
“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उनले भने, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”
सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाए । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उनले सुनाए ।
“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उनी अहिले कक्षा ६ मा पढ्छन् । पाँच कक्षाको नतिजामा उनी कक्षामा तेस्रो भएका थिए ।
बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुन् । उनी अहिले कक्षा ११ मा पढ्छन् । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उनले भने, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”
भारतका कश्मिरमा जन्मिएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउँछन् । दुई वर्षको छँदा आमा गुमाएका घलेले बुबाको माया पनि पाएनन् । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बनेका उनको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।
“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उनले भने, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”
उनका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उनको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उनले बताए ।
“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दुःख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भने । उनले भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आएको उनको भनाइ छ ।
बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गरेका थिए । साथै धरानस्थित सियोन स्कुलले ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराएका थिए । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसकेका छन् । रासस