काठमाडौं,३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई संसद बैठक केही बेर रोक्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै प्रचण्डले घिमिरेलाई यस्तो आग्रह गरेका हुन् ।
सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएका हुन् ।
सोहीकारण ११ बजेको लागि बोलाइएको बैठक ढिला हुने भएको छ । सभामुखले भने बानेश्वरमा नै कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।
यसअघि प्रचण्डले आज बिहान सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए । सो छलफललगत्तै प्रचण्डले कांग्रेससँग पनि छलफल गर्ने तयारी गरेका छन् ।