Logo

सीता जयन्तीलाई पनि राष्ट्रिय क्यालेण्डरमा राख्न प्रभु साहको माग



काठमाडौं, ३ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्तीको अवसरमा राष्ट्रिय विदा दिन सरकारसमक्ष माग गरेका छन् । वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवसको अवसरमा आज काठमाडौंको बत्तिसपुतलीस्थित् श्रीरामचन्द्र मन्दिर परिसरमा आयोजित सीता जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद साहले यस्तो माग गरेका छन । उनले सीता जयन्ती राष्ट्रिय क्यालेण्डरमा राख्नको लागि सरकारलाई सुझाएका छन् ।

उनले रामको गुणगान गाउँदा माता सीताको योगदान र आदर्शलाई अवमूल्यन गर्न नहुने धारणा राखे । राम जयन्ती धुमधाम मनाउँदा मर्यादा पुरुष रामको लागि त्याग गर्ने सीताको जयन्ती मनाउनको लागि किन पछि पर्ने ? भन्दै उनको प्रश्न थियो । सीता उनको समर्पण, त्यागी, साहस र शुद्धताको लागि प्रसिद्ध भएको भन्दै सीताको जीवनशैली आजको समाजको लागि मार्गदर्शन बन्नुपर्ने पनि साहको भनाई छ ।

उनले भने,‘माता सीता त पत्नी, छोरी र आमाको रुपमा भक्तिको प्रतिक हुनुहुन्थ्यो । उहाँले शक्ति र साहसका साथ कष्ट र परीक्षाले भरिएको जीवन जिउनुभयो । जुन आजपनि हाम्रो लागि आदर्श बनेको छ ।’ आजको समाजमा पति–पत्नीबीचको विश्वासको सम्बन्धमा पनि ह्रास देखिन थालेकोले अब पूरा विश्वले सीताको आदर्शलाई अवलम्बन गर्नसक्नुपर्ने कुरा साहले आवश्यकत्ता औंल्याए ।

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्