Logo

प्रचण्डको चेतनाले देश बन्दैनः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतनाले देश नबन्ने ठोकुवा गरेका छन् । आज (शुक्रबार) पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको एउटासँग सहयात्रा गरेपछि केही कुरा नमिल्दैमा छाडेर अर्को दलसँग सहयात्रा गर्ने चेतनाले देश नबन्ने बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले नभएर नेपाली राजनीतिमा अस्थिरता मच्चाउनमा सबैभन्दा बढी जिम्मेवार प्रधानमन्त्री प्रचण्डको हात रहेको उनको आरोप छ ।

‘सहयात्रा गर्ने एउटासँग, रिस उठ्यो भने फेरि अर्कोसँग सहयात्रा गर्ने, त्यो सहयात्री दलहरुलाई छोड्ने, यस्तो काम गर्नुहुँदैन । हामीप्रति नेपाली जनताको नेगेटिभ मनोविज्ञान बन्ने, यसले क्रमश व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्ने, यही कारणले प्रदेशमा पनि अनेकौं समस्याहरु भएको छ । तपाई यो काममा नलाग्नुस् । बहुमत छ, अगाडि बढ्नुस् । समृद्धिको कुरा गर्नुस्, जीडीपी कसरी अगाडी बढाउने, पर क्यापिटा इन्कम कसरी बढाउने ? हामीले भन्ने यही हो । व्यक्तिगत रुपमा हाम्रो लेनादेना केही पनि छैन । तर, कमरेड प्रचण्डको जुन चेतना छ, यो चेतनाले देश बन्दैन भन्ने कुरा मैले सार्वजनिक रुपमा बोलेको छु,’– उनले भने ।

साथै, आफूहरु अहिले यो सरकारमा रहेकाले अर्को गठबन्धन बनाउन नचाहेको उनले बताए । नेकपा (एस) का अध्यक्ष नेपाल नेपाली कांग्रेस सभापति देउवा निवासमा जाँदा सरकार ढल्ने भयो भनेर आत्तिन आवश्यक नरहेको बताए । उनले आफूहरुले अस्थिरता नचाहेको समेत बताए । अध्यक्ष नेपाल देउवा विरामी भएको खबर पाएपछि स्वास्थ्य अवस्था बुझ्नमात्रै गएको उनको दाबी छ । साथै, प्रधानमन्त्री प्रचण्डले भनेको जस्तो माधव नेपालको स्वभव दोहोरो चरित्रको नरहेको उनले बताए । अध्यक्ष नेपालले अहिलेसम्म सहमतिअनुसार इमानदारपूर्वक काम गरिरहेको उनले बताए । नेता चौधरीले वर्तमान सरकार ढालेर विपक्षी गठबन्धनको सरकार बनाउने बारे अहिले एकीकृत समाजवादीसँग कुनै छलफल नभएको बताए ।

‘माधव नेपाल दोहोरो चरित्रमा हिड्ने, दुईवटा कुरा गर्ने, दुईवटा काम गर्ने, दुईवटा जिब्रो निकाल्ने होईन । एउटै कुरा गर्ने, इमानदारिताका साथ कार्यान्वयन गर्ने, पालना गर्ने त्यो स्वभावको हाम्रो अध्यक्ष हुनुहुन्छ । बुढानीलकण्ठमा हाम्रो अध्यक्ष जानुभयो । मानवीय संवेदनासँगको विषय, सभापतिजी विरामी हुनुहुन्छ, अवस्था बुझौं, परिस्थिति के छ, कस्तो छ भन्ने बुझ्नका लागि गएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्