काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको दौडधुपले राजनीतिमा केही तरङ्ग ल्याएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालको गतिविधिले राजनीतिमा केही हलचल ल्याएपनि सरकारलाई कुनै असर नपर्ने बताए । उनले अध्यक्ष नेपालले दाम्लो चुँडाएर जान खोजेको टिप्पणी गरे ।
‘पछिल्ला दिनमा कमरेड माधव कुमार नेपालको दौडधुपले केही तरङ्ग त ल्याएकै छ । यो त्यति स्वभाविक पनि देखिएको छैन । तुरुन्तै यो गठबन्धन भत्काइहालेर हिँडिहाल्ने उहाँहरुको भावना भए पनि वस्तुगत परिस्थिति त्यो हदमा पुगेको जस्तो मलाई लाग्दैन,’– उनले भने ।
सुदूरपश्चिम सरकार विस्तार हुन नसकेको कारण माधव नेपालले दौडधुप बढाएको उनको बुझाइ छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले छिट्टै समाधान खोज्ने उनको भनाइ छ । नेता सापकोटाले देशलाई दुर्घटना र अस्थिरतातिर लाने गरी एकीकृत समाजवादीका अध्यक्षले निर्णय लिन्छन् भन्ने आफूलाई विश्वास नरहेको पनि बताए ।