चितवन, १८ जेठ । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो ।
चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आयोजित प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले पोल्ट्री क्षेत्रको विकासका लागि प्रदर्शनी फलदायी हुने बताइन् । विश्वका विभिन्न देशमा गएर लिनुपर्ने ज्ञान स्वदेशमै पाउनु कुखुरापालक किसानका लागि ठूलो उपलब्ध भएको उनले बताइन् ।
महानगर प्रमुख दाहालले भनिन्, “पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्नेछ ।” पोल्ट्रीको राजधानी चितवन हुने भन्दै उनले अबको महानगरको कार्यक्रम कृषि र पोल्ट्रीमा केन्द्रित हुने जानकारी दिइन् ।
भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०८१र८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय कृषि र पोल्ट्रीको उत्पादन क्षेत्र हुने उनको भनाइ छ । अहिले भइरहेको प्रदर्शनीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सहयोग पुर्याउने उनले बताइन् ।
पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले प्रदर्शनीले नेपालको कुखुराजन्य वस्तुको उत्पादनमा उपलब्धि हासिल हुने बताए । उनले प्रदर्शनीमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फार्मलगायत उपकरणसहित किसानलाई शिक्षा दिने जानकारी दिए ।
भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका प्रतिनिधि उदय सिंहले नेपालमा आयोजना गरिएको यो प्रदर्शनीबाट यहाँका कुखुरापालक कृषक र व्यवसाय गर्न चाहने प्रत्यक्ष लाभान्वित हुने बताए ।
नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इक्युमेन्ट एसोसिएसनको आयोजनामा भएको प्रर्दशनीमा एक सय ५० स्टल रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्री क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा कृषक पाठशाला सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको जानकारी दिए ।
यही जेठ २० गतेसम्म सञ्चालन हुने प्रदर्शनीले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । रासस