काठमाडौं, १९ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अमेरिका पुगेका छन् । एशोसिएशन अफ नेपाली तराईइन इन अमेरिका (एन्टा) को कार्यक्रममा सहभागी हुन राउत अमेरिका पुगेका हुन् । उनी एन्टाको ७औं महाधिवेशनको प्रमुख अतिथिको रुपमा अमेरिका पुगेका हुन् ।
कार्यक्रम अमेरिकाको राजधानी वासिंगटन डिसीमा हुने जनाईएको छ । नेपालमा राजनीतिक माहोल तातिएको बेलामा राउत यहाँ महत्वपूर्ण राजनीतिक भेटवार्तामा सरिक भएर र महत्वपूर्ण निर्णय लिएर अमेरिका पुगेका हुन् । राउतले मधेश प्रदेशमा आफ्नो दलको नेतृत्वमा नयाँ सरकार बनाउने मोटामोटी सहमति गरेका छन् ।
जनमतको नेतृत्वमा नयाँ सरकार बनाउनको लागि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) राजी भएका छन् । लोसपापनि सहमतिमा आउने जनमतका नेताहरुको विश्वास छ । अहिले मधेश प्रदेश सरकारको नेतृत्व उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका सरोजकुमार यादवले गरिरहेका छन् ।
यादवले एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यही जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर, त्यसअघि नै नयाँ गठबन्धन बन्ने निश्चित् भएको छ ।