Logo

एमाले महासचिव पोखरेलले किन गरे कमल थापाको आलोचना ?



काठमाडौं, १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०७९ को निर्वाचन परिणामको समीक्षा गरेर आगामी २०८४ को निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन् । नेकपा (एमाले) मकवानपुरको जिल्ला कमिटीको १२औं अधिवेशन उद्घाटन समारोहलाई हिजो (शुक्रबार) हेटौँडामा सम्बोधन गर्दै पोखरेलले ०८४ मा बहुमत ल्याउनेगरि अहिलेदेखि नै सक्रियताका साथ लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरे । उनले जिल्ला अधिवेशनले सक्षम नेतृत्व टिम निर्वाचित गर्ने विश्वास दिलाए ।

सो क्रममा उनले गत निर्वाचनमा मकवानपुरमा पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिँदा जुन विश्वास र भरोसा गरिएको थियो त्यसमा धोका भएको टिप्पणी गरे । राष्ट्रिय राजनीतिलाई अघि बढाउन कहिलेकाहीं पार्टी नेतृत्वले फरक ढङ्गले पनि सोच्नुपर्ने उनको भनाई थियो । उनले भने,‘हामीले कमल थापाजीलाई जुन विश्वासका साथ, भरोसाका साथ मकवानपुरमा उम्मेदवार बनायौँ त्यो गलत साबित भयो ।’

उनले नेपालको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने कुरामा हरेक नेता र कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताए । पोखरेलले यतिबेला राष्ट्रिय राजनीति अत्यन्त तरल र अस्थिर रहेको बताए ।

समाजलाई सही बाटोमा हिँडाउने अभिभारा नेकपा (एमाले) को काँधमा रहेको औल्याउँदै महासचिव पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताको सामूहिक अठोटले मात्र समाजलाई सही बाटोमा लैजान सकिने बताए । उनले पार्टी जीवनमा आत्मसमीक्षा गर्दै कमजोरीको आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्