Logo

ओली-प्रचण्डको निर्णयमा ल्याप्चे लगाउनमात्रै आएका होईनौं: विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने क्रममा आफूहरुसँग गरेको कुनै पनि सहमति पालना नगरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्ता समीकरणमा रहेका ठूला भनिएका दलहरुले आफ्नो स्वार्थ पूरा भएपनि कुनै पनि सहमति कार्यान्वयन नगरेको बताएका हुन् । ओली–प्रचण्डले कोशी सरकार बनाउँदा आफूहरुसँग सल्लाह नगरेको र एकीकृत समाजवादीसँग विश्वासको मतसमेत नमागेको उनले बताए । साथै, गठबन्धनको बैंठकमा एकीकृत समाजवादीलाई बेवास्ता गरिएको उनले बताए । सुदूरपश्चिममा पनि अनेक प्रयत्न गरेर अन्ततः एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको स्मरण गराउँदै उनले अहिलेसम्म सत्ता समीकरणमा रहेका दलहरुले मन्त्री नपठाएको बताए ।

‘गठबन्धनका ठूला दल भनिनेहरुले आफ्नो स्वार्थ सिद्धिएपछि कोशीको सरकारमा हामीसँग कुनै समन्वय गरेनन् । भोटसम्म पनि मागेनन् । हामीले केन्द्रको गठबन्धनको इमानदारिता कायम गरेर भोट हाल्दियौं । हामीलाई न गठबन्धनको बैठकमा बोलाए ? सुदूरपश्चिमको सरकार बनाउन पहिला रोक्न प्रयन्त गरे । पहिला हाम्रो भागमा भनेको थियो । त्यो पनि पराजीत भएपछि सरकारसम्म बन्यो । तर, आफ्ना मन्त्रीहरु पठाएका छैनन्,’– उनले भने ।

मधेश प्रदेश सरकारको निर्णयसमेत ओली–प्रचण्डले गरेको उनको भनाइ छ । सत्ता समीकरणमा रहेको दल एकीकृत समाजवादीलाई कुनै पनि निर्णयमा सहभागी नगराएको भन्दै उनले आफूहरु ओली–प्रचण्डले गरेको निर्णयमा ल्याप्चे लगाएर नबस्ने बताए । सरकारमा जाने बेलामा एउटा प्रदेशमा मुख्यमन्त्री, राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्य एकीकृत समाजवादीलाई दिने र अन्य राजनीतिक नियुक्तिहरुमा सरसल्लाह गरेर अगाडि बढ्ने समझदारी बनेको उनले बताए । उक्त समझदारी कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाए । साथै, अहिले बजेट आउँदैगर्दा सरकारको नीति तथा कार्यक्रममा समेत एकीकृत समाजवादीसँग कुनै छलफल नभएको उनले बताए । सत्ता समीकरणमा प्रधानमन्त्री भन्दा पनि एमाले अध्यक्ष ओली हाबी भएको उनको बुझाइ छ । उनले ओलीलाई मरेको बाघको जुँगा उखेलेर फुर्ती नदेखाउन चेतावनी दिए । ओली–प्रचण्डले इमानदारिता छाडेको दिन वर्तमान सत्ता समीकरण भत्किने उनको चेतावनी छ ।

‘अहिले बजेट आयो, नीति, कार्यक्रम के आयो भन्ने कुरा हामीसँग सल्लाह पनि भएन । त्यसकारण ढुक्क भएर बुझे हुन्छ आफूलाई दादा भन्नेहरुले, एक्लै चलाए हुन्छ हिम्मत छ भने । ८० सिट लिएर ३२ सिटलाई प्रधानमन्त्री दिएर घिसारिएर हिँडेको छ, फुर्तीफार्ती भने अर्कैअर्कै छ । मरेको बाघको जुँगा उखेलेर फुर्ती हुँदैन ।’ उनले भने, ‘बाघ मार्न सक्नुपर्यो । हामी चाहिँदैन थियो भने किन आएको ? (सरकारलाई सघाउन भन्दै माधव नेपालको घरमा ओली–प्रचण्ड पुगेका थिए) आएकोअनुसार समझदारीमा किन नहिँडेको ? गठबन्धनमा इमानदारिता रहुन्जेलसम्म चल्छ । इमानदारिता छोडेको दिन गठबन्धन चल्दैन ।’



प्रतिक्रिया दिनुहोस्