काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) एमालेनिकट युवा संगठन राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सरकारबाट बाहिर बस्दा मान्छेमा चरम असन्तुष्टि बढेको र प्रतिगमनकारीहरुले प्रश्रय पाएको बताएका हुन् । उनले देश प्रतिगमनतिर नजाने बताएका छन् । कसैले बलजफ्ती प्रतिगमनको प्रयास गरेपनि त्यो नटिक्ने उनको भनाइ छ ।
‘केही तत्वहरु हौसिएका छन् । किनभने हामी सरकारबाट हटेपछि केही उपलब्धीहरु जसरी हुँदै गएका थिए, त्यो पछाढि फर्कियो । मान्छेमा असन्तुष्टि बढेर गयो । त्यसकारणले हौसिएका छन् । हामी स्पष्ट भए हुन्छ कहिले पनि प्रतिगमन सफल हुँदैन । प्रतिगमनतर्फ देश जाँदैन । एकछिन कसैले बलजफ्ती लाने प्रयास गर्यो भने पनि त्यो टिक्नेवाला छैन । हाम्रो यो युव पंक्ति ओपन्ली, भोकाल्ली र एग्रेसिभली प्रतिगमनको विरुद्ध लाग्नुपर्छ,’– उनले भने ।
साथै, प्रतिगमनकारीहरुले एमालेविरुद्ध प्रचार अभियान चलाएको बताउँदै ओलीले त्यसको प्रतिकार गर्न निर्देशन दिए । उनले युवासंघलाई जिम्मेवार प्रचार सेनाको रुपमा विकसित हुन निर्देशित गरे ।
राजा महेन्द्र र विरेन्द्रको प्रतिमन ३० वर्ष टिकेको बताउँदै उनले ज्ञानेन्द्रको पालामा आउँदा ३ वर्ष पनि नटिकेको बताए । उनले अब देशमा प्रतिमनले कहिले पनि प्रश्रय नपाउने दाबी गरे ।
यसो त एमाले अध्यक्ष ओलीमाथि नै प्रतिगमनकारीको आरोप लाग्दै आएको छ । ओलीले दुई–दुई पटक संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेको राजनीतिक दलहरुले आरोप लगाउँदै आएका छन् । ओलीले संसद् विघटन गरेपछि माधव नेपाल एमालेबाट छुट्टिएका थिए ।