Logo

गृहमन्त्रीको हुकुमी शासनको विरुद्धमा छौंः रामहरी खतिवडा



काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य कानुनविपरीत रहेको बताए । उनले उक्त निर्णयलाई गृहमन्त्रीको हुकुमी शासनको संज्ञा दिए ।

‘मापसे गरेका मान्छेलाई विहान सडकमा ल्याएर उभ्याउने रे । यो कुन कानुन र नियममा छ ? गृहमन्त्रालयले कुनै नियमावलीअन्तर्गत प्रहरीलाई पठाएको छ कि ? त्यो पत्राचार भएको छ कि ?’ उनले प्रश्न गर्दै भने, ‘यसरी मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लागेका मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौं । कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानुनअनुसार मुलुकलाई अगाडि बढाउनुपर्छ ।’

ट्राफिक स्वयंसेवकको रुपमा विद्यार्थीहरुले पनि सडकमा कहिले काहीँ काम गरिरहेको बताउँदै उनले यसरी मापसे गरेका मानिसहरुलाई सडकमा पठाउँदा सबै मापसे गरेका मान्छे हुन् भन्ने सन्देश जाने भन्दै सचेत गराए ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य तुरुन्त बन्द गराउन उनले माग गरे । उनले पत्रकारिता चलाएजस्तो मुलुक नचलाउन आग्रह गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्