काठमाडौं, २० जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को लागि पेश गरेको बजेट बक्तव्यलाई लिएर एमाले असन्तुष्ट भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठकमा बजेट अर्थमन्त्री र उनको पार्टीको मात्रै जसरी आएको टिप्पणी गरे । साथै, बजेटमा प्रयोग भएका शब्द र शब्दावलीप्रति पनि उनले आलोचना गरे । उनले बजेटको छलफलमा खरो उत्रिन आफ्ना सांसदहरुलाई निर्देशन दिए ।
‘यस बजेटमा प्रयोग भएको केही शब्दहरुको उपयुक्त प्रयोग नहुने कुरा अथवा केही शब्दहरुको प्रयोग भएको, त्यसमा भएको भाव, अर्थ र महत्वलाई बोक्न नसकेको त्यस्तो खालको स्थिति छ कि ? ती कुराहरुमा पनि हामीले छलफल गर्नुपर्छ,’– उनले भने ।
अध्यक्ष ओलीले बजेटमा उल्लेख रहेको करका दर, भन्सार महसुल, अन्तशुल्क, आय, व्यायको अनुमानलगायतको विषयमा केन्द्रीत भएर छलफलमा सक्रिय सहभागिता जनाउन आफ्ना सांसदहरुलाई निर्देशन गरे । उनले सरकारमा सहभागी दलहरुबीच समान्य छलफलसमेत नभइ बजेट ल्याइएको समेत बताए ।
‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने सरकारमा सहभागी दलहरुबीच परामर्श गरेर छलफल गरेर आएको होईन । धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ,’– अध्यक्ष ओलीले भने ।
त्यस्तै, एमालेका नेता केशव बडालले पनि बजेटमा प्रयोग भएका शब्द अनुपयुक्त रहेको बताए । उनले विगतमा बहस भएर निरुपण भइसकेको शब्द पुनः बजेटमा घुसाइएको भन्दै आपत्ति जनाए । ‘बजेटमा केही शब्द, शब्दावलीमा अलिकति विमती हो । जस्तो २००७ सालको क्रान्ति, ०३६ साल, ०४६ साल इत्यादि भन्ने क्रममा विगतमा पनि बहस भइकन टुङ्गो भइसकेकोमा त्यो शब्द चाहीँ चित्त बुझ्ने खालको छैन,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
अर्थमन्त्री पुनले संघीय संसद्अन्तर्गतको दुवै सदनमा पेश गरेको बजेट वक्तव्यमाको बुँदा नम्बर २ मा ‘२०५२ सालको जनयुद्ध’ भन्ने शब्द प्रयोग भएको छ । File Photo/RN