काठमाडौं, २० जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘वैरागी’ ले संसद् अवरोधका कारण सदनमा जनताको जनजीविकाको कुराहरु उठाउन नपाएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद् अवरोधका नाममा कांग्रेसले सदनमा सभामुखको अपमान गर्नेदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक आक्रम गर्नेसम्मका गतिविधि गरेको भन्दै आपत्ति जनाए ।
‘यो सदन किन अवरुद्ध भयो ? के मागलाई लिएर अवरुद्ध भयो ? कसले अवरुद्ध गर्यो ? अवरुद्ध भएको समयमा के–के विषयहरु अवरुद्ध भए भन्ने बुझिएकै छ । सभामुखले दिएको समयलाई दयाको, भिखको समय चाहिँदैन भनेर अपशब्द बोलेको हामीले सुनियो । यसले सदनको गरिमा बढायो कि के गर्यो भन्ने आफैंले मूल्याङ्कन गर्ने कुरा हो । त्यतिमात्रै होईन, सत्ता साझेदार दलको मुख्य नेतामाथि नै भौतिक आक्रमण गर्ने जसरी गरेर अपशब्द बोल्ने काम गरियो,’– उनले भने ।
साथै, कांग्रेसले जनता सहभागी सहकारीमाथि प्रहार गरेको उनले बताए । ‘छानविन समिति बनेको छ । यसको कार्यसूची पनि बनेको छ । त्यहाँ केही सहकारीको नाम पनि राखिएको छ । तर, त्यो भन्दा बाहिरको सहकारीको समस्या कसरी समाधान गर्ने ? आज सहकारीमाथि किन हानियो ? जनता सहभागी सहकारीमाथि किन हानियो ? यो विषय गम्भीर छ,’– उनले भने ।