Logo

आफ्नो इगोको कारण सदनलाई बन्धक बनाउने काम अब नहोस : सांसद डा. महतो



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जनताका समस्याको समाधानको लागि बहस गर्नुपर्ने थलो संसदलाई आफ्नो इगोको कारण बन्धक बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद डा. महतोले कांग्रेसले लामो समयसम्म सदन अवरोध गरेको विषयमा केन्द्रित रहेर यस्तो भनाई आएको हो । उनले भने,‘महिनौंसम्म सदन अवरुद्ध गरेर जनताको समस्यालाई किनारा लगाउने काम नहोस भनेर म भगवानले सबैलाइृ सद्बुद्धि देओस भन्न चाहन्छु । आफ्नो इगोको कारण सदनलाई बन्धक बनाउने काम अब नगरियोस ।’

महतोले अहिले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको सुनाए । आर्थिक समस्या हल गर्नतर्फ सरकार गम्भीर हुनुपर्नेमा उनको जोड थियो । उनले भने,‘बैंकसँग पैसा छ, तर व्यापारीले पैसा लिन पाएका छैनन् । व्यापारीले पनि समयमा पैसा तिर्न सकेका छैनन् । अहिले धेरै व्यापारीहरु कारागारामा छन् । केही दिनभित्रै नेपालका सबै कारागार व्यापारीहरुले भरिन्छ जस्तो लाग्छ । सरकारको यसमा गम्भीर रुपमा ध्यान जानुपर्ने हो ।’

यस्तै, उनले नेपालको शिक्षा क्षेत्रपनि दयनीय अवस्थामा रहेको सुनाए । नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयमा विद्यार्थीहरु नभएर शिक्षकहरु कटौती गरिएकोले पनि नेपालको शिक्षा क्षेत्रमा कस्तो समस्या छ भन्ने कुरा प्रष्ट हुने उनको भनाई छ । उनले भने,‘नेपालमा कोही पनि विद्यार्थीहरु अब यहाँ बस्न चाहेका छैनन् । क्याम्पस र विश्वविद्यालयहरुमा विद्यार्थीहरु छैनन् । यतातर्फ सरकारको ध्यान जाओस ।’

यस्तै, उनले मिटरब्याजसम्बन्धी विद्येयक ल्याएपछि यसको समस्या समाधान गर्न अहिलेपनि सरकार गम्भीर नदेखिएको बताए । मिटरब्याजसम्बन्धी सजाय पाउनुपर्ने मान्छे छुट्ने अनि छुट्नुपर्ने मान्छे जेलमा बस्नुपर्ने अवस्था देखिएको उनको भनाई छ ।

‘चुरे बचाउ र हामीलाई पानी देउ’ भनेर बाल्टिन बोकेर काठमाडौंमा तराई/मधेशका नागरिक आन्दोलनको लागि काठमाडौं आएको स्मरण गराउँदै महतोले चुरे संरक्षणको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखे । सिरहालगायत विभिन्न जिल्लामा आगलागीका घट्नाले मानिसहरु घरवासविहीन बनेको र उनीहरुको बास त्रिपालमुनि भैरहेकोले उनीहरुको राहत तथा स्थायी बसोबासको लागि सरकारले उचित कदम चाल्नुपर्नेमा महतोको जोड थियो । file photo



प्रतिक्रिया दिनुहोस्